लम्की/ बैशाख २९
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा नारायणपुरको आयोजनामा आज सोमबार रक्तदाता उत्प्रेरणा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । उपशाखा स्तरबाटै सर्वसाधारणलाई रक्तदान गर्न उत्प्रेरित गर्नका लागि नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र धनगढीको प्राविधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति धनसरी कुमारी कोइरालाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलिराम चौधरी रहनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीप्रसाद पन्तले रगत, रक्तदानको महत्व, रगतको काम, नेपालमा रक्तदानको इतिहास, रगतको समूह लगायतका विषयमा अभिमिखिकरण गराउनु भएको थियो ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपाने , नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशी, साविक नारायणपुर गाविसका अध्यक्ष फकिर सिंह कडायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपसभापति बलबहादुर रावल, मन्त्री राकेश हमाल, उपमन्त्री भीम महर, उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, जिल्ला शाखा सदस्य टोपबहादुर केसी, तारा साउद, शाखा विकास अधिकृत नरेन्द्र भट्ट , कर्मचारी विकाश नेपाली लगायतकाको उपस्थिति रहेको थियो । 
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले बिरामीहरुलाई रगतको अभाव हुन नदिने उद्देश्यले कैलाली जिल्ला अन्तर्गत उपशाखाबाट एक एक सय जना रक्तदाताको रोष्टर तयार गरि रगतको आपूर्तिलाई सहज बनाउने अभियान अगाडि सारेको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपसभापति बलबहादुर रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन नारायणपुर उपशाखाका सचिव पुर्ण नायकले गर्नुभएको थियो ।



