राष्ट्रिय सभाबाट खानेपानीमा कर छुट र सहुलियत सहितको संकल्प प्रस्ताव पारित भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको विशेष अनुरोधमा २०८२ जेठ ६ गते राष्ट्रिय सभामा दर्ता भएको उक्त संकल्प प्रस्ताव असार १२ गते पारित भएको हो ।
खानेपानीलाई जनताको मौलिक हकको रुपमा स्थापित गर्दै यसमा कर छुट, विद्युत महसुलमा सहुलियत, किफायती कर्जाको व्यवस्था र स्वदेशमै ब्लिचिङ पाउडर उत्पादन गर्ने सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव एवम् लम्की साना शहरी खानेपानी उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले बताउनु भयो ।
प्रस्तावक माननीय जग प्रसाद शर्माले राष्ट्रिय सभामा पेश गर्नुभएको यस प्रस्तावलाई माननीय कृष्ण बहादुर रोकाय, माननीय गोपी बहादुर अछामी सार्की, माननीय भवगती न्यौपाने, माननीय मदन कुमारी शाह (गरिमा), र माननीय मोहम्मद खालिदले समर्थन गर्नुभएको थियो। प्रस्तावमाथि छलफलका क्रममा अन्य माननीय सदस्यहरुले पनि आफ्नो महत्वपूर्ण धारणा राख्नुभएको थियो। खानेपानीको क्षेत्रमा सम्भवतः पहिलो पटक प्रस्तुत भएको यस संकल्प प्रस्तावलाई सबै माननीय सदस्यहरूले खुलेर समर्थन गर्दै यसको शीघ्र कार्यान्वयनले खानेपानी क्षेत्र, उपभोक्ता र समग्र राज्यलाई नै प्रत्यक्ष फाइदा पुग्नेमा जोड दिएका थिए ।
प्रस्ताव पारितमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, खानेपानी मन्त्री प्रदिप यादव लगायतको उपस्थिति थियो। छलफलको क्रममा माननीय सदस्यहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै खानेपानी मन्त्री प्रदिप यादवले प्रस्तुत संकल्प प्रस्ताव समय सापेक्ष र यथार्थपरक रहेको भन्दै यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन आफूले निरन्तर प्रयास गरिरहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासंघका अध्यक्षले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपाध्यक्ष बिमला घिमिरे, उपप्रधान तथा अर्थमन्त्री, खानेपानी मन्त्री, संकल्प प्रस्तावका प्रस्तावक, समर्थक र समर्थन गर्ने सम्पूर्ण माननीय सदस्यहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभाबाट पारित यस संकल्प प्रस्तावले सबै नागरिकलाई सुरक्षित, गुणस्तरीय तथा आधारभूत खानेपानी सेवामा सहज पहुँच सुनिश्चित गर्दै जनताको संवैधानिक अधिकारलाई कार्यान्वयन गर्न ठोस कदम चाल्नेमा महासंघ विश्वस्त छ ।
राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावका प्रमुख बुँदाहरूः- – खानेपानी आयोजना सञ्चालन गर्ने उपभोक्ता समिति वा संस्थालाई राजस्व, आयकर, भ्याट लगायत सम्पूर्ण कर छुट। – खानेपानी सेवामा जडित विद्युतमा डिमाण्ड शुल्कका साथै विद्युत महसुलमा छुट। – नगर विकास कोषले प्रदान गर्ने ऋणको ब्याजदरमा कमी। – जनसहभागितालाई राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति २०८० अनुसार लागु गर्ने। – सबै नेपालीलाई सुरक्षित खानेपानी उपलब्ध गराउन स्वदेशमै ब्लिचिङ पाउडर उद्योग स्थापना र सञ्चालन प्रस्तावका मुख्य बुदाहरू रहेका खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले निरन्तर रुपमा यस विषयमा मन्त्री देखि माननीयलाई पटकपटक जानकारी गराइएको भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव एवम् लम्की साना शहरी खानेपानी उपभोक्ता सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले बताउनु भयो ।



