चन्द्र प्रसाद खनाल लम्की , साउन २२
जातीय भेदभाव अन्त्य गरौं , महिला हिंसा घरेलु हिंसा बन्द गरौं भन्ने मुल नारा रहेको महिला जागरण केन्द्र नेपालको आयोजनामा र टेवा अनुदान नेपाल संस्थाको सहयोगमा जातीय छुवाछूत महिला हिंसा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम बिहीबार सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका वडा नं १० को वडा सभाहलमा करिब ४० जना दलित तथा गैरदलित महिलाहरूको सहभागीता रहेको थियो ।
महिला जागरण केन्द्र नेपालका अध्यक्ष विष्णा बिसी (सपना) को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लमकीचुुहा नगरपालिका वडा नं १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहनु भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं १० का वडा सदस्य सुरेन्द्र बोहरा , गिता थापा र दिपा सुनार महिला अगुवाहरू , सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो ।
टेवा नेपालका सदस्य बालकुमारी सुनारले कार्यक्रममा धारणा राख्नु भएको थियो । महिला जागरण केन्द्र नेपालले राम्रो कार्यक्रम गरेको र आगामी दिनहरूमा समेत सहकार्य हुने बताइन् ।
महिला हिंसा , घरेलु हिंसा सम्बन्धी सन्देश मुलक विषयवस्तु प्रशिक्षक प्रेम विकले प्रशिक्षण दिनु भएको छ।
मुख्य सल्लाहकार गोपाल विकले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष हर्क बहादुर कठरियाले जातीय छुवाछूत अन्त्यको सुरुवात आफैंबाट गर्नुपर्ने बताउँदै आजभन्दा २५/३० वर्ष पहिले नै आफुले दलितको घरमा खाने बस्ने गरेको बताए । जातीय छुवाछूत आफ्नो घरमा नभएको बताउँदै कठरियाले सबैले यसको अन्त्यका लागि लाग्नुपर्ने बताए । कठरियाले महिला हिंसाको अन्त्यका लागि घरमा सासु बुहारीबीचको विभेद अन्त्य हुनुपर्ने बताए ।
२०७२ सालमा स्थापना भएको महिला जागरण केन्द्र, नेपालले नेतृत्व विकास, जनचेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धिका कार्यक्रम, मानव अधिकारको वकालतसँगै आयआर्जनका तालिमहरू प्रदान गर्दै आएको कार्यक्रमकी सभाध्यक्ष विष्णा वि.सी. सपनाले बताएकी छन् । महिला हिंसा अन्त्य गर्नका लागि आयआर्जनका कार्यक्रममा सहभागी भएको खण्डमा कमी हुने बताइन् । ३ दिनसम्म तालिममा सिकेका विषयहरू टोल छर छिमेकमा र समाजमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
महिला जागरण केन्द्र नेपाल लम्कीचुहाको मुख्य उद्देश्य महिलाहरू सक्षम एवम् शिक्षित बन्नुपर्ने , घरेलु हिंसा हुन नदिने , जातीय विभेद न्युनिकरण गर्ने लक्ष्य रहेको बताइएको छ ।
तालिम ३ दिनसम्म सञ्चालन भएको थियो ।



