रंग प्रसाद तिमिल्सेना लम्की , जेठ ११
लम्कीचुहा नगरपालिका वडा नम्बर १ , पुर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका कला उपाध्याय रिमाल ले आफ्नो जन्मदिनलाई सामाजिक तथा शैक्षिक कार्यसँग जोड्दै उदाहरणीय रूपमा मनाउनु भएको छ । आज परेको आफ्नो शुभ जन्मोत्सवको सुखद अवसरमा वहाँले विद्यालयमा अध्ययनरत कक्षा बालविकासदेखि कक्षा ५ सम्मका करिब १५० जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गर्नुका साथै विद्यालय परिसरमा रबर प्लान्टको बिरुवा वृक्षारोपण गरेर जन्मदिन मनाउनु भएको हो ।
विद्यालयको प्राथना सभाका क्रममा आयोजित कार्यक्रममा शिक्षिका रिमालले प्रत्येक विद्यार्थीलाई एक/एक थान नोटकपी तथा एक थान पेन्सिल वितरण गर्नुभएको थियो । साना बालबालिकाको अध्ययनप्रति थप उत्साह बढाउने उद्देश्यले आफूले जन्मदिनको अवसर पारेर यस्तो कार्यक्रम आयोजना गरेको वहाँले बताउनुभयो ।
यसै अवसरमा विद्यालय प्राङ्गणमा एक थान रबर प्लान्टको बिरुवा समेत रोपिएको थियो । विद्यालयको वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको बताइएको छ । शिक्षिका रिमाल विद्यालयको इको क्लबको शिक्षक प्रतिनिधि समेत रहेकाले वातावरण संरक्षणप्रति वहाँको विशेष चासो रहेको विद्यालय परिवारले जनाएको छ ।
स्टेशनरी वितरण तथा वृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले शिक्षिका रिमालको कार्यलाई अनुकरणीय तथा प्रेरणादायी कार्यका रूपमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षिका कला उपाध्याय रिमालले जन्मदिनलाई केवल औपचारिक उत्सव वा फजुल खर्चमा सीमित नराखी समाज र विद्यार्थीहरूको हितमा उपयोग गर्न सकिने सन्देश दिन खोजेको बताउनुभयो । वहाँले भन्नुभयो , “जन्मदिनमा अनावश्यक खर्च गरेर केवल रमाइलो गर्नु भन्दा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नु र वातावरण संरक्षणका लागि बिरुवा रोप्नु अझ अर्थपूर्ण कार्य हो भन्ने सोचका साथ मैले यो कार्यक्रम गरेकी हुँ । बालबालिकाको अनुहारमा खुशी देख्न पाउनु नै मेरो जन्मदिनको सबैभन्दा ठूलो उपहार हो ।”
त्यसैगरी विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले शिक्षिका रिमालको कार्यको प्रशंसा गर्दै यसले विद्यार्थी तथा समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । वहाँले भन्नुभयो , “शिक्षक केवल पाठ पढाउने व्यक्ति मात्र होइन, समाजलाई सही दिशा दिने मार्गदर्शक पनि हुन् । कला मेडमले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु अत्यन्त प्रशंसनीय कार्य हो ।
यसले विद्यार्थीहरूमा सहयोग, वातावरण संरक्षण तथा सकारात्मक सोचको विकास गर्न प्रेरणा मिल्ने विश्वास लिएको छु ।” विद्यालय परिवारले पनि आगामी दिनमा यस्ता सामाजिक तथा रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने जनाएको छ ।



