न्यायिक पहिचान , व्यवस्थित पुनःस्थापना , सम्मानित जीवन भन्ने मुल नारा रहेको मुक्त कमैया समाज नगर समिति, लम्की, कैलालीको आयोजनामा २६ औं कमैया मुक्ति दिवस कार्यक्रम मनाइएको छ । लम्कीचहा नगरपालिका भल्का, कैलालीको सहकार्य/समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा जनप्रतिनिधि , राजनीतिक दलका पार्टी प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधि , मुक्त कमैया समाजका अगुवा तथा प्रतिनिधिहरू , अधिकारकर्मीको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।
मुक्त कमैया समाज लम्कीचुहा नगर समितिका अध्यक्ष बुधराम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामेश्वर चौधरी रहेका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले सरकारले कमैया मुक्ति घोषणा गरेको २६ वर्ष बितिसक्दा पनि मुक्त कमैयाका आधारभूत समस्या समाधान हुन नसक्नु दुःखद् रहेको धारणा राखे। उनीहरूले जग्गा व्यवस्थापन, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आयआर्जनका अवसर सुनिश्चित गर्न राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए।तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले कमैया मुक्ति गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रीय सदस्य बल्लु चौधरी, अगुवा मैतुराम चौधरी, दिपु चौधरी, चन्द्रप्रकाश चौधरी लगायतले मुक्त कमैयाको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम प्रसाद चौधरी , वडा नं १० का वडा अध्यक्ष हर्कबहादुर कठरियाको समेत सहभागी रहेका थिए । कार्यक्रमको सञ्चालन मुक्त कमैया समाजकी प्रतिनिधि मिरा चौधरीले गरेकी हुन् ।



