सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय अन्तर्गत स्कुल अफ एग्रिकल्चर, टीकापुर कैलालीका सातौँ सेमेस्टरका विद्यार्थीहरूले कृषि व्यवसायबाट प्राप्त मुनाफाको रकम बाढीपीडितका लागि सहयोग गरेका छन्।
कृषि विज्ञान संकायअन्तर्गत स्कुल अफ एग्रिकल्चरमा आबद्ध विद्यार्थीहरूले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई राहत तथा सहयोग गर्ने उद्देश्यले रु. १० हजार आर्थिक सहयोग गरेका टीकापुर बहुमुखी क्याम्पस तथा स्कुल अफ एग्रिकल्चरका स्ववियु सभापति किरण साउदले जानकारी दिएका छन् ।
विद्यार्थीहरूले विपद्को यस दुःखद घडीमा बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरेका हुन्। उनीहरूले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका छन्।
कृषि व्यवसायमार्फत सिकाइसँगै आम्दानीसमेत गर्दै आएका विद्यार्थीहरूले आफ्नो व्यवसायबाट प्राप्त मुनाफालाई सामाजिक सेवामा लगाएर मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्।
विद्यार्थीहरूले आफ्नो सहयोग रकम सानो भए पनि विपद्ममा परेका परिवारको दुःखमा साथ दिने प्रयास भएको बताएका छन्। विपद्को समयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्दै प्रभावित समुदायलाई पुनः सामान्य जीवनतर्फ फर्काउन हातेमालो गर्नुपर्नेमा जोड दिएका छन्।



