भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु. ६ लाख ३९ हजार सहयोग गरेको छ।
बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा जम्मा गरिएको सुदूरपश्चिमेली नेपाली समाज इजरायलकी वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष आशिका भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार इजरायलमा रहेका सुदूरपश्चिमेली नेपालीहरूले व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग रकम संकलन गरी प्रधानमन्त्री कोषमा पठाएका हुन्। विपद्को समयमा पीडित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले समाजको पहलमा सहयोग संकलन गरिएको उहाँले बताउनुभयो। “प्राकृतिक विपत्तिले दिएको यो पीडाको क्षणमा सहयोग पुगोस भनेर यहाँ रहेका सुदूरपश्चिमेली नेपाली जुटेका हौँ,” कार्यवाहक अध्यक्ष भण्डारीले भन्नुभयो, “मानवता नै सबैभन्दा ठूलो धर्म सम्झेर विपद्का बेला सबै मिलेर सहयोग गर्नुपर्छ।”
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी सुदूरपश्चिमका विभिन्न जिल्लाका १०० भन्दा बढी नागरिक अझै सम्पर्कविहीन रहेको बताइएको छ। बाढीपीडितको उद्धार तथा राहतका लागि सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह, विभिन्न संघ–संस्था तथा नागरिकस्तरबाट समेत सहयोग जुटिरहेको छ।
विपद्को समयमा देश तथा विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



