कैलालीको लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र टीकापुर नगरपालिका–१ मा रहेको ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्रा.लि.बीच स्वास्थ्य सेवा तथा सहुलियत प्रदान सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। 'स्वस्थ सदस्य, समृद्ध समुदाय' भन्ने अभिप्रायका साथ बुधबार आयोजित एक विशेष समारोहका बीच उक्त सम्झौता-पत्रमा औपचारिक हस्ताक्षर गरिएको हो।
यस सम्झौतासँगै कैलालीको लम्कीचुहा र टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका तथा बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका २३ हजारभन्दा बढी शेयर सदस्य तथा उनीहरूका एकाघरका आश्रित परिवारजन प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। सम्झौता अनुसार सहकारीका सदस्य तथा उनीहरूका एकाघरका परिवारले ओम कृष्ण अस्पतालबाट सेवा लिँदा न्यूनतम १० देखि अधिकतम २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् ।
अस्पतालले बिरामी भर्ना (जनरल बेड तथा क्याबिन), आइसियू , एनआइसियू , विभिन्न प्रकारका जटिल तथा सामान्य शल्यक्रिया (अपरेशन), ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे तथा अस्पतालको आफ्नै फार्मेसीबाट औषधि खरिद गर्दा तोकिएको सहुलियत छुट उपलब्ध हुनेछ। यसैगरी ओपिडी (OPD) दर्ता तथा एमबिबिएस चिकित्सक परामर्श शुल्क अधिकतम रु १५० मात्र कायम गरिएको छ भने नियमित फलो–अप परामर्श पूर्ण रूपमा निःशुल्क रहने व्यवस्था मिलाइएको छ।
यो सहुलियत सुविधा उपभोग गर्नका लागि सेवाग्राहीले अस्पतालको शुल्क भुक्तानी गर्नु अघि किसान सहकारीले जारी गरेको आधिकारिक शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखा कार्यालयको सिफारिस पत्र पेस गर्नुपर्नेछ। सम्झौता–पत्रमा हस्ताक्षर पश्चात् सम्झौताको पूर्ण कार्यान्वयनको प्रतिबद्धता व्यक्त गर्दै ओम कृष्ण अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद उपाध्याय (बजगाईं) ले समुदायमा आधारित सहकारीका सदस्यहरूलाई सहुलियत दरमा गुणस्तरीय सेवा दिन पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले पूर्वी कैलालीमै अत्याधुनिक प्रविधि, उपकरण र विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा स्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेको अस्पतालबाट सदस्यहरूले वास्तविक राहत महसुस गर्ने विश्वास दिलाउनुभयो ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले आफ्ना सदस्यहरूलाई वित्तीय कारोबारका अलबा सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा समेत प्रत्यक्ष टेवा पुर्याउने उद्देश्यले अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो। उहाँले सम्झौताबाट प्राप्त हुने स्वास्थ्य सहुलियतको भरपुर लाभ उठाउन सम्पूर्ण सदस्य तथा तिनका परिवारलाई आग्रह गर्नुभयो।
सम्झौता अनुसार दुई संस्थाको संयुक्त पहलमा समुदायस्तरमै निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याण तथा विभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने भएको छ। सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थामा हाल कुल ७६ हजार ८८ सय ४ जना शेयर सदस्य आबद्ध रहेका छन्।



