भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीपहिरोका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रवासी नेपाली संघ भारत, कर्नाटक–केरला संयुक्त राज्य समिति अन्तर्गत पूर्वी नगर समिति बेंगलोर (क) ले शोकसभा आयोजना गरेको छ।
समितिले ६ सेप्टेम्बर २०२६ मा आयोजना गरेको शोकसभामा नगर समिति अध्यक्ष कबिराज रेग्मीसहित नगर समिति परिवार, राज्य समितिका पदाधिकारी तथा सदस्यहरू, प्रारम्भिक समितिका सदस्यहरू र शुभचिन्तकहरूको सहभागिता रहेको थियो। शोकसभालाई सम्बोधन गर्दै नगर समिति अध्यक्ष कबिराज रेग्मीले भोटेकोसी बाढीपहिरोमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो।
अध्यक्ष रेग्मीले विपत्तिको यस संवेदनशील घडीमा हजारौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीले ज्यान गुमाएको र सिंगो देश नै शोकमा डुबेको अवस्थामा प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिको परिपत्रअनुसार यस वर्षका लागि पूर्वनिर्धारित हरितालिका तीज कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिनुभयो। तीज कार्यक्रम आयोजना गर्दा खर्च हुने रकमलाई बाढीपहिरो प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रयोग गर्ने निर्णय गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो। उहाँले विपत्तिमा परेका नागरिकको घाउमा थोरै भए पनि मलहम लगाउने उद्देश्यले मानवीय सहयोगलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।
यसैक्रममा पूर्वी नगर समिति बेंगलोर (क) परिवारले भोटेकोसी बाढीपहिरोपीडितका लागि राहतस्वरूप रु. ६० हजार ८ सय ८ रुपैयाँ सहयोग गरेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो। बाढीपहिरोपीडितका लागि सञ्चालन गरिएको आर्थिक सहयोग अभियानमा स्वेच्छिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति अध्यक्ष रेग्मीले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो।
विपत्तिको समयमा प्रवासी नेपालीहरूबीचको एकता, सहकार्य र मानवीय भावनालाई थप मजबुत बनाउँदै पीडित परिवारलाई आवश्यक सहयोग पुर्याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत समितिले जनाएको छ।
राजेन्द्र प्रसाद खनालले प्रवासबाट जानकारी दिनु भएको हो ।



