नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. २ बाट युवा पुरुषतर्फ महाधिवेशन प्रतिनिधि पदका लागि युवा नेता तथा व्यवसायी धिरज सञ्ज्यालले उम्मेदवारी घोषणा गरेका छन्। विशेष महाधिवेशनपश्चात् हुन लागेको १५औँ महाधिवेशनमा युवाको सहभागिता र नेतृत्वदायी भूमिकालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धतासहित सञ्ज्यालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
युवामाझ परिचित तथा स्पष्ट वक्ताका रूपमा आफ्नो पहिचान बनाएका सञ्ज्याल व्यवसायिक क्षेत्रमा समेत सक्रिय छन्। उनको उम्मेदवारीलाई कांग्रेसभित्र युवा पुस्ताको प्रतिनिधित्व, पुस्तान्तरण र संगठन सुदृढीकरणको बहससँग जोडेर हेरिएको छ। उम्मेदवारी घोषणा गर्दै सञ्ज्यालले पार्टीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै युवाको सार्थक सहभागिता सुनिश्चित गर्न आफूले भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले कांग्रेसलाई समयानुकूल, समावेशी र थप सुदृढ संगठनका रूपमा अघि बढाउन युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको उल्लेख गर्दै पुस्तान्तरणसँगै अनुभव र ऊर्जाबीचको समन्वयबाट पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा अघि सारेका छन्।
विशेष महाधिवेशनले दिएको नयाँ ऊर्जा र १५औँ महाधिवेशनले तय गर्ने नयाँ दिशालाई आत्मसात् गर्दै संगठन निर्माण, युवा सहभागिता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको सञ्ज्यालको भनाइ छ। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा क्षेत्रका युवाका मुद्दा, अवसर र सम्भावनालाई पार्टीको नीति निर्माण तहसम्म प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
“समावेशी कांग्रेस, सबल युवा र समृद्ध नेपाल” भन्ने मूल भावनासहित उम्मेदवारी घोषणा गरेका सञ्ज्यालले क्षेत्रीय प्रतिनिधिहरूको साथ, विश्वास र अमूल्य मतको अपेक्षा गरेको र मतदान गरेर विजयी गराउन अपिल समेत गरेका छन् ।



