नेपाली कांग्रेसका युवा नेता टेकराज कठायतले नेपाली कांग्रेस लम्कीचुहा नगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको विशेष महाधिवेशनपछिको १५औँ महाधिवेशनलाई संगठन सुदृढीकरण र पार्टीलाई समयानुकूल अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै कठायतले नगर सभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
कठायतले पछिल्लो समय देशमा विकसित राजनीतिक घटना–परिघटना, बदलिँदो राजनीतिक परिस्थिति तथा नेपाली जनताको चाहनालाई ध्यानमा राख्दै नेपाली कांग्रेसलाई समयानुकूल, सैद्धान्तिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा व्यवस्थित र अग्रगामी पार्टीका रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। लामो समयदेखि पार्टी संगठन निर्माण र सुदृढीकरणमा सक्रिय रहेको उल्लेख गर्दै उनले देश तथा विदेशका समसामयिक राजनीतिक र आर्थिक विषयको अध्ययन, अनुभव तथा संगठनमा रहेर प्राप्त ज्ञानलाई पार्टी र जनताको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कैलाली क्षेत्र नं. २ अन्तर्गत लम्कीचुहा नगरपालिकाको नगर सभापति पदमा उम्मेदवारी घोषणा गर्दै कठायतले आफ्नो उम्मेदवारी व्यक्तिगत पद वा प्रतिष्ठाका लागि मात्र नभई सुदृढ संगठन, सक्षम नेतृत्व, सक्रिय कार्यकर्ता र जनतासँग अझ नजिक जोडिएको नेपाली कांग्रेस निर्माण गर्ने उद्देश्यमा केन्द्रित रहेको बताएका छन्।
उनले पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै कार्यकर्ताको भूमिका बलियो बनाउने तथा जनताको भावना र अपेक्षालाई पार्टीको मूलधारसँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। नगर सभापति पदका उम्मेदवार कठायतले सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई नगर सभापतिमा समर्थन गर्न आग्रह समेत गरेका छन्।



