नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दगोरिया गाउँपालिका–१ बाट क्षेत्रीय प्रतिनिधि (३५ वर्षमुनि युवा) मा सर्वसम्मत सिफारिस भएका धिरज शाहीले महाधिवेशन प्रतिनिधि (३५ वर्षमुनि युवा, खुला पुरुष) पदमा उम्मेदवारी घोषणा गरेका छन्। सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय शाही विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वसँगै व्यवसायमा समेत संलग्न रहँदै आएका छन् ।
२०६५ सालमा टीकापुरस्थित सप्तऋषि माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघका मावि संयोजक भएका थिए। त्यस्तै, शाही नेपाल तरुण दल बर्दगोरियाका संयोजक, कम्प्युटर एसोसिएसन कैलालीका जिल्ला सदस्य (२०७० साल), सडकपुर बौनिया युवा क्लबका अध्यक्ष तथा बौनिया जेसीज वर्ष २०१९ का अध्यक्ष भइसकेका छन्। शाही नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्षसमेत भएका थिए। उनले भारत, दुबई र जापानको भ्रमणसमेत गरेको अनुभव रहेको छ।
शाहीको पारिवारिक पृष्ठभूमि पनि नेपाली कांग्रेससँग जोडिएको छ। उनका अनुसार परिवारको कांग्रेससँग तीन पुस्तादेखिको राजनीतिक सम्बन्ध रहेको छ। बर्दगोरिया गाउँपालिकाबाट ३५ वर्षमुनिको खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका शाहीले आफू उमेरले मात्र नभई सामाजिक तथा राजनीतिक सक्रियताका हिसाबले पनि युवाको प्रतिनिधित्व गर्न सक्ने बताएका छन्।
समाज परिवर्तन व्यक्तिको परिवर्तनबाट सम्भव हुने धारणा राख्ने शाहीले राजनीतिक उत्तेजनाभन्दा चेतनाका माध्यमबाट परिवर्तन आवश्यक रहेको बताएका छन्। यसैबीच, उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित वडा सभापति, वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
आगामी पालिका तह, प्रदेश सभा, क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि छनोटमा क्रियाशील सदस्यहरूले आगामी पाँच वर्षलाई मध्यनजर गर्दै आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा पनि शाहीले आग्रह गरेका छन्। उनले सम्पुर्ण क्रियाशील सदस्यहरूलाई आत्मसात् गर्दै स्वविवेक र स्वाभिमानका साथ मतदान गर्न अनुरोध गरेका छन्।



