घोषणा नेपाल विद्यार्थी संघको राजनीतिमा एक दशकभन्दा लामो समयदेखि सक्रिय युवा नेता , स्पष्ट वक्ता नृप जंग थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं. १ बाट ३५ वर्ष मुनि (युवा तर्फ ) महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी जीवनदेखि नै अन्याय, अत्याचार र विभेदका विरुद्ध आवाज उठाउँदै आएका थापाले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् ।
वि.सं. २०७० सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका थापा २०७९ सालको स्ववियु निर्वाचनमा टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिलाई केवल पद र प्रतिष्ठाको माध्यम नभई विद्यार्थीका अधिकार, शैक्षिक सुधार र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने प्रयास गरेको थापाको दाबी छ । उनको नेतृत्वकालमा क्याम्पसमा विभिन्न रचनात्मक तथा विद्यार्थीमुखी गतिविधिहरू सञ्चालन भएका थिए ।
थापाको राजनीतिक यात्रामा अर्को उल्लेखनीय प्रशंसाको आधार २०८१ सालको स्ववियु निर्वाचनमा सबै संगठन एक हुँदा समेत नेविसंघका उम्मेदवार जिताउन खेलेको भुमिका महत्त्वपूर्ण मानिएको छ । उक्त निर्वाचनमा सात विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै नेविसंघका उम्मेदवारलाई विजयी गराउन उनले आफ्नो राजनीतिक प्रभाव र संगठनात्मक क्षमताको परिचय दिएको चर्चाका रुपमा लिइएको छ ।
शैक्षिक रूपमा पनि थापा निरन्तर अध्ययनमा छन् । उनले अर्थशास्त्रमा आई.ए. तथा समाजशास्त्रमा स्नातक तह पूरा गरेका छन् भने हाल विकास अध्ययनमा स्नातकोत्तर (एम.ए.) तहमा अध्ययनरत छन् । विद्यार्थी आन्दोलनबाट सुरु भएको उनको राजनीतिक यात्रा अब पार्टीको मूल राजनीतिक संरचनातर्फ अघि बढ्ने क्रममा देखिएको छ ।
लामो समय विद्यार्थीका बीचमा रहेर काम गरेका थापाले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै महाधिवेशनमा पुग्ने आकांक्षा अघि सारेका छन् । उनले उम्मेदवारीसँगै कैलाली क्षेत्र नं. १ मा युवा पुस्ताको राजनीतिक प्रतिनिधित्व, विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश तथा नयाँ पुस्ताको भूमिकाबारे बहस समेत सुरुवात गरेको बताएका छन् ।
थापाले क्षेत्रीय प्रतिनिधि , वडा सभापति , पार्टीका नेता तथा शुभेच्छुकलाई साथ , समर्थन , मतदान गरेर विजयी गराउन भुमिका खेल्न समेत सबैलाई अपिल गरेका छन् ।



