नेपाली कांग्रेसका युवा नेता कमल खनालले कैलाली क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । भजनी नगरपालिका–४ निवासी खनालले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको सक्रिय सहभागिता र प्रतिनिधित्वलाई प्राथमिकता दिने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्। विद्यार्थी तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका खनालको उम्मेदवारीसँगै कैलाली–३ मा युवा नेतृत्व र नयाँ पुस्ताको प्रतिनिधित्वको विषयसमेत चर्चामा आएको छ। खनाल बाल्यकालदेखि नै सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
उनले २०६९ सालमा बाल क्लबको सदस्य हुँदै सामाजिक गतिविधिमा आफ्नो यात्रा सुरु गरेका थिए। त्यसपछि २०७० सालमा भजनी नगर बाल सञ्जालको सचिवको जिम्मेवारी सम्हालेका थिए। विद्यार्थी राजनीतिमा समेत सक्रिय खनालले पहलमानसिंह मेमोरियल प्राविधिक क्याम्पसको इकाइ सचिवको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि नेपाल विद्यार्थी संघ भजनी नगर सचिवका रूपमा समेत काम गर्दै संगठन विस्तार तथा विद्यार्थीका सवालमा सक्रिय भूमिका निर्वाह गरेको बताइएको छ। सामाजिक क्षेत्रमा समेत सक्रिय खनालले विभिन्न सामाजिक संघ–संस्थामार्फत समुदायसँग जोडिएर काम गर्दै आएका छन्।
सामाजिक कार्यमा कठिन परिस्थितिमा समेत सहयोग र सहकार्य गर्दै आएको भन्दै उनलाई स्थानीयस्तरमा सामाजिक तथा युवा नेतृत्वका रूपमा चिन्नेहरू छन्। कम उमेरमै शिक्षण पेसासँगै विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा संलग्न हुँदै आएका खनालले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए। पार्टीभित्र पुस्तान्तरण, नेतृत्व परिवर्तन र युवाको सहभागिताका विषयमा हुने छलफल तथा विशेष अधिवेशनका गतिविधिमा समेत उनी सक्रिय रहँदै आएको बताइएको छ।
खनालले आफ्नो उम्मेदवारीमार्फत युवा पुस्ताको आवाजलाई पार्टीको निर्णायक तहसम्म पुर्याउने, संगठनलाई थप गतिशील बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखेको बताएका छन्। महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय अधिवेशन असोज १२ गते हुने कार्यतालिका रहेको छ। क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले उम्मेदवारहरूले आफ्नो पक्षमा समर्थन जुटाउन आन्तरिक भेटघाट, छलफल तथा कार्यकर्ता संवादलाई तीव्रता दिएका छन् ।
युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्वको बहस भइरहेका बेला कैलाली–३ बाट खनालको उम्मेदवारीलाई पनि सोही सन्दर्भमा हेरिएको छ। यद्यपि, महाधिवेशन प्रतिनिधिको अन्तिम टुंगो भने क्षेत्रीय अधिवेशनबाट हुने निर्वाचन तथा चयन प्रक्रियाले निर्धारण गर्नेछ। नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका रहेको छ।



