नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि नेता देवानन्द जैसीले उम्मेदवारी प्रस्तुत गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठन र राजनीतिमा सक्रिय जैसीले पार्टी संगठनलाई सुदृढ बनाउन विभिन्न जिम्मेवारीमा रहेर काम गरेको बताउँदै महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई विजयी गराउन वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूसँग अपिल गरेका छन्।
जैसीको राजनीतिक यात्रा २०५० सालमा नेपाली कांग्रेसको सदस्यता लिएदेखि सुरु भएको थियो । २०५२ सालमा क्रियाशील सदस्य बनेका जैसी सोही समयमा नेपाल विद्यार्थी संघ कालिकोटको जिल्ला अध्यक्षको जिम्मेवारीमा समेतको नेतृत्व गरिसकेका छन् । २०५४ मा जननिर्वाचित वडा अध्यक्षदेखि पार्टीका विभिन्न तहका जिम्मेवारी सम्हाल्दै संगठन निर्माणमा सक्रिय रहँदै आएको बताइएको छ। २०५५ सालमा कालिकोटमा तत्कालीन माओवादी पार्टीले कांग्रेस भएकै कारण समस्या पारेपछि कैलालीको लम्कीमा आउनु भएको थियो ।
२०५७ सालमा कालिकोट पार्टी सचिव, २०५९ सालमा कैलाली क्षेत्र नं. १ को सहसचिव तथा २०६२ सालमा कैलाली क्षेत्र नं. २ को पार्टी सचिवको जिम्मेवारी सम्हालि सक्नु भएको छ । त्यसैगरी २०६७ सालमा क्षेत्रीय सभापतिको जिम्मेवारीमा कुसलताका साथ निर्वाह गरिसकेका छन् ।
जैशी लम्की बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षका रूपमा समेत सफलताका साथ जिम्मेवारी सम्हालिसकेका छन्। नेपाली कांग्रेस कैलालीका पार्टी प्रशिक्षक, जिल्ला कार्यसमिति सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेर पनि उनले काम गरेका छन् । कैलाली क्षेत्र नं. २ को संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका जैसी स्पष्ट वक्ताका रुपमा समेत आफ्नो परिचय बनाएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको सचिवालयमा रहेर काम गरिसकेका जैसी मुख्यमन्त्रीको कार्यकाल सफल पार्न समेत मुख्य भुमिका खेलेका थिए । जैसीले पार्टीको आधिकारिक लाइन र विचारलाई आत्मसात गर्दै १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अवसर दिन आग्रह गरेका छन्।
पार्टीभित्र स्पष्ट धारणा राख्न सक्ने, आफ्ना विचार प्रस्ट रूपमा प्रस्तुत गर्ने तथा संगठनात्मक विषयमा सक्रिय भूमिका निर्वाह गर्ने नेताका रूपमा कार्यकर्तामाझ आफ्नो परिचय रहेको छ ।
कैलाली क्षेत्र नं. २ मा पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्ताका आवाजलाई प्रतिनिधित्व गर्ने र पार्टीका नीति तथा विचारलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासहित जैसीले आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूमा अपिल गरेका छन्।



