नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत हुन गइरहेको जिल्ला अधिवेशनमा कैलाली जिल्ला सचिव पदका लागि रतन बहादुर खडकाले उम्मेदवारी घोषणा गरेका छन्। टीकापुर नगरपालिका–१ निवासी खडका पार्टीको सङ्गठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित जिल्ला सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै खडका पार्टीको आदर्श, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। पार्टीभित्र आपसी एकता, पारदर्शिता, सहकार्य र कार्यकर्ताको सम्मानलाई प्राथमिकतामा राख्दै सबैको भावना तथा सुझावलाई आत्मसात् गरेर अघि बढ्ने उनको प्रतिबद्धता छ। खडका लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।
उनको राजनीतिक यात्रा अछामबाट सुरु भएको हो । उनले अछाममा नेपाल विद्यार्थी सङ्घको इलाका नम्बर ७ सचिव, महेन्द्र माध्यमिक विद्यालय इकाई सचिव, जनता क्याम्पस इकाई अध्यक्ष, जिल्ला कमिटी सदस्य (दुई पटक) तथा चुनाव प्रचार–प्रसार संस्कृति समितिको जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
त्यसैगरी कैलाली आएपछि खडकाले नेपाल विद्यार्थी सङ्घ टीकापुर बहुमुखी क्याम्पस इकाई अध्यक्ष, नेपाल विद्यार्थी सङ्घ कैलाली जिल्ला उपाध्यक्ष, नेपाली कांग्रेस नगर सदस्य तथा टीकापुर अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्। पार्टीको सङ्गठनात्मक विकास, कार्यकर्ताको उचित मूल्याङ्कन र नेपाली कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा आफू क्रियाशील रहने बताउँदै खडकाले जिल्ला अधिवेशनका प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग साथ, सहयोग, विश्वास र समर्थनका लागि आग्रह गरेका छन्।
पार्टीप्रतिको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै सबैको सुझाव, सल्लाह र मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।



