✍️ उषा जोशी ( धनगढी ) प्रसङ्ग भर्खरै प्रकाशित SEE को नतिजा र यसले सामाजिक संजालमा ल्याएको बिचारको तरङ्ग को हो । हामी वयस्कहरु आफुलाई अत्यन्त आधुनिक , प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने क्रममा कतिपय अत्यन्त संबेदनशील मुद्दाहरुलाई आफ्नो तरिकाले ब्याख्या , विश्लेषण गरेर रमाई रहेका हुन्छौ । जुन मुद्दाहरु यसो हेर्दा व्यक्तिगत र पारिवारिक जस्ता मात्र देखिएता पनि यस्ता कुराहरुको प्रभाव समग्र सिस्टम र मानव मनमा परेको हुन्छ । जसको असर दिर्घकालिन रुपमा राज्य र समग्र मानव समाजले खेप्नु पर्ने हुन्छ। SEE रिजल्ट औपचारिक रुपमा प्रकाशित भएपछी उक्त रिजल्टको प्रतिक्षामा रहेका अभिभावक र स्वयम् विद्यार्थी बालबालिकाहरुले आफ्नो खुशी ब्यक्त गर्न पाउनु उनीहरुको अधिकार हो र अहिलेको परिस्थितिमा कुनै पनि खुशी या दुख ब्यक्त गर्न सामाजिक संजाल एक सशक्त र प्राय , सर्वसुलभ माध्यम पनि हो । जहासम्म मलाइ लाग्दछ आफ्नो बालबालिकाहरुले कति सिकेका छन् र कस्तो अवस्थामा छन् नबुझी कुनै पनि अभिभावकले आफ्नो खुशी सार्वजनिक गर्नु भएको छैन यदि कसैले गर्नु भएको भएपनि यो कुराले आफ्ना बालबालिकाहरुलाई राम्रो गर्नलाई प्रोत्साहन या अप्रत्यक्ष दवाब दिने मनसाय हुन सक्छ । जो बालबालिकाको हितमा नै छ । यसरी खुशी मनाउदै गरेको बेला अर्को पक्षले यो रिजल्ट कुनै ठुलो कुरा होइन परीक्षा बिनाको रिजल्ट , अथवा विद्यालयले आफै दिएको नम्बर भन्ने खालका अत्यन्त गैरजिम्मेवारीपूर्ण टिप्पणीहरु सार्वजनिक गर्दै लाइक र कमेन्ट बटुलिरहेको देखिन्छ। यो सबै कुरामा के SEE दिने बालबालिकाको स्विकृती लिने काम भएको छ ? किन बालबालिका आफैले आफ्नो रिजल्ट पोष्ट गरेका छैनन या न्युन संख्यामा मात्र पोष्ट गरेका छन् ? के हामीले सोचेका छौ यस बारेमा ? यी वयस्कहरुका आफ्ना बिचार पस्किने तरिका र शब्दहरुले किशोर अवस्थाका हाम्रा बालबालिकाहरुको मनोविज्ञानमा कस्तो र कति असर पारेको छ यो कुराको अनुमान पनि गरेका छौ हामीले ? जो बालकले करिब एक दशक भन्दा बढी मिहिनेत गरेर हामी वयस्कहरुले तय गरेका किताबका भारीहरु बोकेर हामीले भनेको नियममा बाधिएर जीवनको एक घुम्तीबाट अर्को घुम्तीमा प्रवेश गर्ने , आफ्नो मनले आफ्नो रुचि अनुसार विषय छनौट गरेर आफ्नो जीवनको लक्ष तय गर्ने कठिन कार्यमा हाम्रो हौसला , सहयोग र उचित मार्गदर्शनको खाचो भएको समयमा यस्ता गैर जिम्मेवार पूर्ण टिका टिप्पणिले ती लाखौ बालबालिकाको बाल मनोविज्ञानमा कस्तो प्रभाव पर्ला ? कोरोना महामारीले विश्व र समग्र मानव दुनिया प्रभावित भएको बेला राज्यले तोकेको मापदण्ड भित्र रहेर गरेका वयस्कका सबै कामहरु नीतिगत र स्वीकार्य हुने तर विद्यार्थी बालबालिकाको मुल्यांकन प्रणाली र यसको नतिजामा किन यति नकारात्मक टिका टिप्पणी ? के यो मुल्यांकन बिधि बालबालिकाले तय गरेको हो र ? कि उनीहरुको रुचि र चाहाना बमोजिम भएको हो ? के सबै बालबालिकाहरुले केहि नसिकेर ३ भन्दा माथि GPA ल्याएका हुन् त ? यदि हुन् भने दोष कसको ? के सबै बालबालिकाहरु परीक्षा नदिएर उतिर्ण हुन चाहान्छन त ? के बालबालिकाको सिकाइलाइ सधै कम्पाउण्डमा प्रहरी राखेर कक्षाकोठा भित्र २/३ गार्ड राखेर परीक्षा लिदा मात्र सहि मुल्यांक हुन्छ र ? के कम्पाउण्डमा प्रहरी राखेर कक्षाकोठा भित्र २/३ गार्ड राखेर परिक्षा लिएर प्रथम या विशिस्ट श्रेणी ल्याएका सबै बालबालिकाहरु जीवनमा सफलै भएका छन् त ? अथवा तेस्रो श्रेणी मा उतिर्ण हुने या बिषय लागेर अथवा कम GPA ल्याएर उतिर्ण भएकाहरुले जीवनमा केही गरेकै छैनन् त ? यी सबै प्रश्नहरुको जवाफ प्रत्येक व्यक्तिले आफुले आफुलाई गर्नु पर्ने देखिन्छ । साथै, एउटा बालकले उसको वृद्धि र विकास र उसमा आएको परिपक्कता संगै समय अनुसार सिक्नु पर्ने कुराहरु सही वातावरणमा सिक्न पाए नपाएको हेर्ने र सिक्नलाई अनुकुल वातावरण मिलाउने दायित्व राज्य, समाज , परिवार र प्रत्येक नागरिकको हो । सिकाइको मुल्यांकन कुनै पनि राज्यले तय गरेको औपचारिक परीक्षा प्रणाली मात्र नभई विद्यार्थीको सम्पूर्ण पक्षको मुल्यांकन हो । जुन उसको जीवन उपयोगी सिप संग जोडिएको हुन्छ । त्यसकारण हामी सबै तह र तप्काका व्यक्तिहरुले विद्यार्थी बालबालिकाको गुणात्मक सिकाइलाई बढाउन उचित मार्गदर्शन दिन सक्नु पर्दछ। कुनै पनि बालबालिकाको बालमनोविज्ञानले उनीहरुको सिकाइमा ठुलो भूमिका खेलेको हुन्छ । जुन कुराको ख्याल समाजका सबै सरोकार वालाहरुलाई हुनु पर्दछ। अहिलेको प्रगति मुल्यांकन प्रणाली पनि बालबालिकाहरुको रहर होइन बाध्यता हो । जो राज्यले तय गरेर लागू गरेको हो । त्यसकारण आफ्ना कुनै पनि बिशेष टिप्पणी दिनु अगाडी एक पटक सम्बन्धित बालबालिकाहरुको मनोबिज्ञानलाई बुझौ र त्यो ठाउँमा यदि आफु भएको भए कस्तो हुन्थ्यो महसुस गरौ । हाल विश्वमा हरेक कामहरु समय परिस्थिति अनुरुप भर्चुअल मोडमा गर्दा सबैलाई स्वीकार्य हुने तर बच्चाको रिजल्टमा किन यति धेरै टिका टिप्पणी ? बरु विषम परिस्थितिमा बालबालिकाहरुले सिक्न सकेका छैनन् भने सिकाइलाइ कसरी प्रभावकारी बनाउने बहस हुनु पर्छ । जति सिकेका छन् त्यति सिकाइलाइ व्यवहारमा लागू गर्ने वातावरण र पूर्वाधारको आवश्यकता हुन सक्छ । बर्षेनी आफ्नो श्रम लाइ अर्काको निम्ति खर्चिने युवाहरुको जमातका लागि यहि माटोका लागि केही गर्ने सपना पुरा गर्न सहयोग आवश्यक हुन सक्छ । सक्छौ उनीहरुको हौसला बढाउ , सक्दैनौ आफ्ना बिचारहरु डायरीका पानाहरुमा सिमित गरौ सामाजिक संजालमा छरपस्ट नगरौं । यदि कुनै पनि विषय सामाजिक संजालमा पस्किने हो भने सम्बन्धित पक्षको मनोबिज्ञानलाई एकपटक ख्याल गरौ । अन्त्यमा, यस वर्षको एसइइ परीक्षामा सहभागी भई सफल हुनुहुने सबै भाइबहिनीहरुलाई हार्दिक बधाईका साथै आगामी दिनहरुमा शैक्षिक प्रगति र सफलताको हार्दिक शुभकामना । धन्यवाद ! (लेखक लामो समयदेखि बालबालिका र शिक्षा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)



