नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि देशविदेशमा रहेका सबै नेपालीहरु एक हुनुपर्ने बताएका छन् ।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै वरिष्ठ नेता खनालले वर्तमान सरकारले संविधानमाथि गम्भीर प्रहार गरेकाले प्रतिगमनको विरुद्धमा एकजुट भएर उभिन अपिल गरेका हुन् ।
‘आज ७१ औ प्रजातन्त्र दिवस, यस अवसरमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात महान् सहिदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।
प्रजातन्त्र स्थापनाको लागि भएका संघर्षको मार्गदर्शन स्वरुप मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नपालको संविधान निर्माण गरेको छ । यस नेपालको संविधान अनुरुप हाम्रो लक्ष्य समाजवाद हो ।
तर वर्तमान सरकारले संविधानमाथि गम्भीर प्रहार गरी प्रतिगमन गरेको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि देशविदेशमा रहनु भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा प्रतिगमनको विरुद्धमा एकजुट भई उभिन हार्दिक अपिल पनि गर्दछु’, खनालले भनेका छन् ।



