Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन, दुई लाख जनता उतार्ने दाबी

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन, दुई लाख जनता उतार्ने दाबी

  • राजनीति
  • फाल्गुण ८, २०७७ शनिवार ०३:३६ बजे
  • 541
    SHARES
  • नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन, दुई लाख जनता उतार्ने दाबी
    • कर्णाली भ्यूज

    विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् ।

    प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ ।

    प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति  प्रदर्शन गर्न लागेको हो ।

    विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । सडकमा आमसभा गर्दा ट्राफिक जाम हुने भएपछि अस्पताल छेउको खाली जग्गामा सभास्थल बनाइएको आयोजक कमिटीले जनाएको छ ।

    प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।

    शनिबार दिउँसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार जनसभाबाट गाउँ-गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ ।

    विराटनगरको विभिन्न ६ स्थानबाट र्‍याली निस्कनेछन् । ‘दुई लाख समर्थक सहभागी हुने हाम्रो अपेक्षा छ,’ ढकालले भने ‘मोटरसाइकल मात्रै १० हजार आउछन्, निजी सवारी पनि धेरै आउछन् ।’ विराटनगरको जनसभा एतिहासिक हुने उनको दाबी छ ।

    भिड धेरै हुने भएकाले दुई स्थानमा प्रधानमन्त्रीको सम्बोधन हेर्न मिल्ने गरी डिस्प्ले स्क्रिन राखिएको छ । केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो ।

    प्रधानमन्त्री सवारी हुनेभएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सुरक्षा सतर्कता उच्च बनाएको बताएका हुन् ।

    विराटनगरमा केपी ओलीको कार्यक्रम

    शनिबार विहान ११ बजेको फ्लाइटमा प्रधानमन्त्री विराटनगर आउने कार्यतालिका छ । विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा नेताहरुसँग भेटबार्ता गर्नेछन् । मुख्यमन्त्री शेरधन राईसहित नेताहरुसँग होटल एसियाटिकमा छलफल गर्ने कार्यतालिका छ ।

    नेकपा केन्द्रीय सदस्य ढकालका अनुसार ११ बजे विराटनगर आइपुग्ने प्रधानमन्त्री ओली साढे १२ बजेमात्रै कार्यक्रम स्थलमा पुग्नेछन् । उनका अनुसार होटल एसियाटिकमा केही समय आराम गर्नेछन् । सभालाई सम्बोधन गरी शनिबार नै काठमाडौं फर्कने तयारी छ ।

    ‘बिहान ११ बजे आएर बेलुका साढे ४ बजेको फ्लाइटमा फर्कने कार्यतालिका छ ,’ उनले भने ‘ विराटनगरमा जनसभालाई सम्बोधन गर्ने बाहेक अन्य कार्यक्रम छैनन् ।’


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images