हेमन्त बहादुर शाह – कैलाली
जनताको हकमा सरकार एक उत्तरदायी संस्था हो यसलाई नकार्न सकिदैन, तर नेपाली जनजविनमा उठेका सरोकारका विषयहरु पुर्ण रुपमा सरकार प्रति अश्रित देखिन्छन् । अहिले जनताले सरकारको नेतृत्वलाई हेर्ने दृष्ट्रिकोण फेरिएको छ । जनताको नजरमा नेतृत्वले लगनशिल, सयंमित र जनचाहाना अनुसारको काम गर्न सकेनन भन्ने ब्यापकता मौलाएको देखिन्छ ।
हुन त हो, सरकारले आईडीया नपायर हो की, सरकारी नेतृत्व कमजोर भएर हो, सरकारी नीति नियम, प्रविधि शैक्षिक गुणस्तर र व्यवसायिक पद्धति पुरानै तवरले चलिरहेका देखिन्छन् । सरकार एउटा उत्तरदायी संस्था हो । जसले राष्ट्रमा रहेका नागरिकहरुलाई हरेक चिजमा सहजिकरण गर्ने हो । तर नेपालमा नागरिकहरु सरकार संग पुर्ण आश्रित देखिन्छन् । बाटोघाटो, पुलपुलेसा, शैक्षिक भवन, नितीनियम र कानुन बनाउनु , युवालाई प्रविधिमैत्री तवरले प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तर राष्ट्र विकसित हुनको लागि राष्ट्र र नागरिक दुवै देशका सम्पुर्ण नीतिनियम र संरचानहरुमा बराबर उत्तरदायी भयो भने मात्रै देश उभो लाग्छ । देशमा भएका सम्पुर्ण गतिविधिहरुको सम्पुर्ण जिम्मा सरकारले नै लिनुपर्छ भन्ने हाम्रो धारणा गलत हो । हामी सबैले संविधानले बनाएका ऐन नियमहरुलाई पालना गर्नुपर्छ, आफूले सक्ने सहयोग राज्यलाई गर्नुपर्छ । “
व्यवसायमा व्यवसायी र सरकारको उत्तरदायित्व” व्यवसाय नागरिक तथा सरकारलाई समृद्ध बनाउने एक पाटो हो । व्यवसायमा १००% जिम्मेवार व्यवसायीले नै हुनुपर्छ । किनकी व्यवसायको सम्पुर्ण संरचना व्यवसायीले तय गरेको हुन्छ । राज्यले सहजिकरण गरिदिने हो । नेपालका व्यवसायीहरुलाई राज्यले सहजिकरण नगरिदिनु राज्यको कमजोरी हो । तर व्यवसायीले उत्पादन गरेका वस्तुहरु सरकारले हामीलाई केही गरेन भनी कुवाउनु , सडकमा फाल्नु र उत्पादन गरेको दुध सडकमा पोख्नुले उल्टै व्यवसायी नै धरासय हुनु हो । राज्यले व्यवसायिक सहजिकरण र प्रोत्साहन गरे व्यवसायीले कर तिर्छन ,राज्यको ढुकुटी मजवुत हुन्छ ।
व्यवसायीले सरकारलाई जिम्मेवारीको दोस्रो पक्षमा राखेर आफ्नै वर्गतले काम गरेमा व्यवसायलाई अहिलेको युग अनुसार कसरी संचालन गर्न सकिन्छ भनेर अन्वेषण गरेमा व्यवसाय राम्रो तवरले चल्छन् । अल्प विकसित एवम् अविकसित मुलुकहरुको अर्थतन्त्रलाई चलाएमान बनाईराख्ने मुल आधार व्यवसाय नै हुन् । यसर्थः– सरकार र व्यवसायी दुवै पक्षले सकरात्मक तवरले अगाडी बढेमा नेपालमा व्यवसायीक चुनौतीहरुको सामना हुन सक्छ । गरिबी र भोकमरीको अन्त्य कुनै पुँजीपतिले पुँजी बाँड्दैमा हुने होइन । तर हाम्रो दिमागमा हालियो कि हाम्रो गरिबीको कारण पुँजीपति हुन् । नेपाललाई धनी र समृद्ध बनाउनु छ भने सबभन्दा पहिला समाजको अन्तस्करणमा रहेको पुँजी, पुँजीवाद र यसप्रतिको घृणा हटाउनुपर्छ ।
विशाल पुँजीको अपेक्षा गर्ने अनि पुँजीवाद र पुँजीपतिसँग शत्रुता गर्नु सही हुन सक्दैन । हामीले उपभोक्तामुखी वा दलाल पुँजीवाद तथा वित्तीय पुँजीवादको विरोध गर्नैपर्छ, तर उत्पादनमुखी पुँजीलाई नअँगालेर राष्ट्रिय पुँजी निर्माण हुन सक्दैन । राजनीतिक आडमा र शीर्ष नेताको संरक्षणमा जे गरे पनि हुने भन्ने प्रवृत्ति छ । विद्यालयको शुल्क तिर्नुछ– आन्दोलन वा तोडफोड गरे तिर्नु पर्दैन । अस्पतालमा तोडफोड गरेर पनि उम्किन सक्ने । कतिपय उद्योगीहरू पार्टीसँग मिलेर राज्यको करमा लुट मचाउँछन् भने कामदारले पनि जतिखेर आन्दोलन गरेर उद्योग नै बन्द गर्न सक्छन् । यस्तो माहोलमा शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवासँग सम्बद्ध संस्था निर्धक्क भएर स्थापित हुन सक्दैनन् र सेवाप्रवाह गर्न सक्दैनन् ।
लगानीकर्तालाई सुरक्षित महसुस हुँदैन र रोजगारी सिर्जना हुने अवसर हराउँदै गएका छन् । नेपालको सत्ता प्रजातन्त्र आएपछि कहिले पनि स्थिर भएन । स्थिर नभएपछि यसका नीति तथा कार्यक्रम, रणनीति र योजना केही स्थिर हुने भएनन् । एउटा सरकारले गर्न खोजेको कुरा केही महिनापछि सरकार परिवर्तनपछि थन्किन्छ । एउटा कार्यालय प्रमुखले थिति बसाउन खोजे पनि अर्को आएपछि सकिन्छ । एउटा सरकारले मन्त्रिपरिषद्को निर्णयद्वारा नै दिएको अनुमति अर्को सरकार आएपछि खोसिन्छ । सरकारी तवरबाटै पनि कतिखेर कुन नीति आइदिने हो त्रास बनिराख्छ । लगानीमैत्री वातावरण बन्दैन र रोजगारी सिर्जना हुँदैन । नेपालमा थुप्रै किसिमका सम्भावनाहरु छन् ।सरकार र नागरिक दुवै सकारात्मक ढङ्गले अगाडी बढेमा नेपाललाई आत्मसवालम्बी बनाउन सकिन्छ भन्नेकुरा अवलम्बन गर्न जरुरी छ । विगतको तुलनामा देश धेरै अगाडी बढिरहेको छ । तर जतिको सरकार गैरजिम्मेवार छ, त्यो भन्दा धेरै नागरिक गैरजिम्मेवार छ ।
एक परिवारको एक जनाले कमाउँछ, ७ जनाले केही नगरी एक जनाको कमाई खान्छ । परिवार समृद्ध बन्नको लागि परिवारका सबै सदस्यहरु आत्मसवालम्बी बन्न आवश्यक हुन्छ । परिवार समृद्ध भए समाज समृद्ध बन्छ, समाज समृद्ध भए देश समृद्ध बन्छ भन्ने कुरालाई आत्मसात गर्दै सरकार र नागरिक दुबै पक्षले अल्छीपन बाट मुक्त भई नेपाल भित्रका सम्भावनाहरुको खोजी कार्यका लागि अग्रसर हुनुपर्छ, र सरकारले पनि प्रोत्साहन र सहयोग गरेमा नागरिक सहित देश पनि समृद्ध बन्न सक्छ ।



