धनराज विक (अविरल) जुलाई १० (युरोप)
ब्लड क्यान्सर रोगबाट पीडित सुरज लौडारीको उपचारका लागि हेल्पलाइन माल्टाको आयोजनामा धुर्मुस सुन्तली साँझको आयोजना हुने भएको छ । यही जुलाई १३ तारीखका दिन माल्टाको जिरा भन्ने ठाउँमा रहेको अर्फियम थे्रटर हलमा धुर्मुस सुन्तली साँझको आयोजना हुने भएको हो ।
कलाकार कुन्जना घिमिरे (सुन्तली) ले सामाजिक संजालमा एक सन्देश दिंदै ब्लड क्यान्सर रोगबाट पीडित सुरज लौडारीको उपचारका लागि सहयोग रकम जुटाउने कार्यक्रममा आफू लगायतका कलाकार माल्टा आउन लागेको भन्दै माल्टामा रहेका नेपालीलाई कार्यक्रममा सहभागी हुन चुले निम्तो समेत दिएकी छन् ।
त्यसैगरी कलाकार सिताराम कट्टेल (धुुर्मुस) ले पनि सामाजिक संजालमा माल्टामा रहेका नेपालीलाई चुले निम्तो दिँदै मानव सेवाका लागि पवित्र उद्देश्य राखेर हेल्पलाइनले आयोजना गर्न लागेको कार्यक्रममा आफूहरु आउन लागेको सन्देश दिदै मानव सेवाका काममा सरिक हुन अनुरोध गरेकाछन् । चर्चित लोकदोहरी गायक बिष्णु खत्री र तुल्सी शिवाकोटीले पनि आफूहरु माल्टा आउँदै गरेको जानकारी दिएका छन् ।
परोपकारी र मानविय सेवाका कामगर्ने गरी स्थापना भएको हेल्पलाईन माल्टाले स्थापना कालको छोटो समयमा सबैको मनजित्ने गरी मानविय सहयोगका काम गर्दै आएको छ । हेल्पलाइनका संयोजक डीएस राणाको काम र सक्रियताले हेल्पलाइन माल्टाले देश विदेशमा रहेका सबै नेपालीको मनजित्न सफल भएको हो ।
दिन दुखी असहाय र विभिन्न कारणले प्रवासमा होस् या देशमा समस्यामा परेकाहरुलाई हेल्पलाइनको माध्यामद्धारा डीएस राणाले सहयोग गर्दै आएकाछन् । सहयोग पाएपछि खुसी हुँदै पीडितहरुले हेल्पलाइनको कामको प्रशंसा गर्दै संयोजक राणालाई सामाजिक संजाल मार्फत धन्यवाद् समेत दिने गरेका छन् ।
माल्टामा आएको छोटो समयमा डीएस राणा सबैको प्रिय बन्दै गएकाछन् । सरल स्वभाव मिजासिलो व्यवहार सहयोगी र उनको समाजसेवी भावनाले माल्टामा उनी स्थापित बन्दै गएकाछन् । माल्टामा हुने हरेक कार्यक्रममा उनी पुग्ने गरेका छन् र कार्यक्रम सफल पार्न सहयोग पनि गर्ने गरेका छन् । यतिबेला हेल्पलाइनका संयोजक डीएस राणालाई सबैले फलो गरी रहेका छन् ।
नेपालको ब्यास नगरपालिका १ दमौली घर भएका सुरज लौडारी ब्लड क्यान्सर भई ३ महिना देखि माल्टाको माटर देइ अस्पतालमा भर्ना भएर क्यान्सर रोगको उपचार गराई रहेको र थप उपचारको लागि युके लिनुपर्ने भएकोले उपचार रकम संकलन गर्नको लागि उनी निरन्तर लागि परेकाछन् । लौडारीकै उपचारमा सहयोग रकम जुटाउन नेपालका चर्चित कलाकार धुर्मुस र सुन्तली लाई माल्टामा ल्याएर धुर्मुस सुन्तली साँझ कार्यक्रम गर्ने तयारीमा जुटेकाछन् ।
यसका लागि उनले माल्टामा रहेका प्रवासी नेपाली संग माल्टाको कुलेजमा एक कार्यक्रम गरी छलफल समेत गरेका थिए । छलफलमा सहभागी भएका सबैले हेल्पलाईनले ब्लड क्यान्सर सुरजको जीवन बचाउनका लागि आयोजना गर्न लागेको धुर्मुस सुन्तली साँझ कार्यक्रम सफल पार्न एक भएर लागिपर्ने बताएका थिए ।
कार्यक्रमबाट संकलन भएको सबै रकम लौडारीलाई नै प्रदान गरिने राणाले बताए । अहिले सबैले हेल्पलाइन मार्फत सहयोग रकम दिइरहका छन् । सहयोग गर्नेहरुको नाम र फोटो राणाले हेल्पलाइनको पेजबाट पोष्ट गरेको देख्न सकिन्छ । दुईसाता देखि हेल्पलाइनको फेसबुक पेज सहयोग गर्नेहरुको पोष्टले भरिएको छ । सहयोग गरेको पोष्टले सहयोग गर्न एक अर्कालाई उत्प्रेरणा समेत दिएको छ ।
नेपालमा समाजसेवाका काममा अग्रसर हुँदै आएका कलाकार धुर्मुस र सुन्तली ब्लड क्यान्सर सुरजको जीवन बचाउनका लागि माल्टामा कन्सर्ट गर्न आउने भएपछि माल्टामा रहेका नेपालीहरु पनि खुसी भएकाछन् । हेल्पलाइनको कार्यक्रम सफल पार्न प्रवासी सबै नेपाली एक भएर जुटेका छन् । रोजगारीका शिलशिलामा विगत ६ वर्षदेखि माल्टामा रहँदै आएका लौडारीलाई ब्लड क्यान्सर भएको जानकारी पाएपछि आफू अस्पतालमै भेट्न गएको बेला उपचारका लागि युके लिनुपर्ने र उपचार खर्च धरैे लाग्ने भएकोले धुर्मुस सुन्तली साँझको आयोजना गरी उपचारका लागि पैसा संकलन गर्ने सोच बनाएको राणा बताउँछन् ।
प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष एवम् समाजसेवी बुद्धिजिवी बावु अर्यालले ब्लड क्यान्सर पीडित सुरजको उपचारका लागि सबैलाई सक्दो सहयोग गर्न अनुरोध गरेकाछन् । जीवनमा समस्या कतिबेला कसरी भोग्नुपर्छ केही थाहा छैन । त्यसैले हामीले दैनिक खर्च गर्न खर्च कटौती गरेर मानव सेवाको लागि उपचारमा सहयोग गर्नु पर्नेमा अर्यालले जोड दिए ।
धुर्मुस सुन्तली साँझ कार्यक्रममा सहभागी हुन माल्टामा रहेका प्रवासी नेपालीलाई उनले अनुरोध गरेकाछन् । पत्रकार धनराज अविरलले अनुमोदन खबरमा लेखेको ब्लड क्यान्सर पीडित सुरजको समाचार आएपछि सहयोग संकलन गर्नेकाम भइरहेको छ । समाचारकै कारण अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले पनि सहयोग संकलन गरेको अध्यक्ष बासुदेव भुसालले बताए । समाचारकै कारण आफूले बिरामीलाई अस्पतामै भेटेर आर्थिक सहयोग गरेर जन्मदिन मनाएको सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक ठगुन्नाले बताए ।
माल्टामा रहेका विभन्न संघसंस्था र व्यक्तिहरुले सहयोग रकम संकलनलाई तीब्र रुपमा अगाडी बढाएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाका वरिष्ठ उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष मधु गुरुङले हेल्पलाईनले गैर नाफामूलक राम्रो कामगर्दै आएको बताए ।
सुरुवाती देखिनै उपचारको लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले समन्वय गर्दै आएको र एनआरएनएले संस्थागत रुपमा सहयोग गर्ने बताउँदै सहयोगका लागि अक्षयकोष समेत स्थापना गरि आर्थिक जुटाउने काम भइरहेको निरज श्रेष्ठले बताए ।
सुरज लौडारीको उपचारको लागि + ३५६७७७३६००९ उनकै मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिने राणाले बताए । ब्लड क्यान्सर रोगबाट पीडित सुरज लौडारीले सहयोग गर्ने सबैलाई धन्यवाद् दिंदै सहयोग अभियान र हौसलाले आफ्नो आत्मबल बढेको लौडारीले बताएका छन् ।



